“छोराको हत्या भएको महिनौं वितिसक्यो तर हत्यारा समातिएन, न्यायको लागि आमरण अनसन बस्ने बुवाआमाको चेतावनी”

330 Shares

रौतहट, १ चैत । “छोराको हत्या भएको सात महिना वितिसक्यो, अहिले सम्म हत्यारालाई समात्न सकिएन ? हाम्रो उजुरी पनि प्रहरीले दर्ता गरेन ? प्रहरीले आफूहरुलाई विभेद दृष्टिबाट हेरिरहेको छ ? पिडित आमावुवाले संचारकर्मी समक्ष न्यायको लागि गुहार लगाए” ।
रौतहटको राजदेवी नगरपालिका वडा नम्वर ७ मुडलवा निवासी कृष्ण यादवको २४ बर्षीय छोरा अभिमनुकुमार यादवको हत्या भएको सात महिना बितिसक्दा पनि न्याय नपाएको पिडित परिवारले प्रहरी माथि गम्भिर आरोप लगाएको हो ।
प्रहरीले दोषि पक्राउ गर्न चासो नदेखाएको गुनासो गर्दै मृतकका आमाबुबा ले जिल्ला प्रहरी कार्यालय गौर, रौतहट आगाडी आमरण अनशन मा बस्ने चेतावनी समेत दिएका छन् । छोराको हत्यारा पत्ता लगाउन न्यायको लागि ६ महिना देखि निरन्तर रुपमा जिल्ला प्रहरी कार्यालय गौर, रौतहटमा धाउदै धाउदै थकित भईसकेको ६० बर्षीय पिडित कृष्ण यादवले दुखेसो यसरी पोखेका छन् ।
मृतकको गाउँकै एक युवती सँग प्रेम बसेको र युवतीले मोबाइलमा फोन गरेर सुनसरी जिल्लाको इटहरीमा एक कन्ट्रक्सनमा कार्यरत रहेको छोरालाई असोज १४ गते बोलाएका थिए । दशैको पञ्चमीका दिन बेलुका षड्यन्त्र पूर्वक सीमावर्ती क्षेत्रमा लगेर हत्या गराएर प्रमाणहरू नष्ट गरे । नेपालमा शव नभेटोस भन्दै भारत बिहारको सीतामढी जिल्लाको बैरगनिया सहप्रखण्डको मसहा गाउँ नजिक रहेको रेल्वे पटरीमा शव फ्याकेको पिडित यादवले बताए ।
गाउँले युवतीसँग छोरा को करिव ४ बर्षदेखि प्रेम बसेको त्यस बिषयमा युवतीको बुवा र आफन्तले पटक–पटक मृतक छोरा र आफुलाइ ज्यान मार्ने धम्की दिने गरेको पिडित यादवले भने ।
छोरा अभिमनु गाउँ मा बस्दा बेला–बेला युवतीको बिषयमा बादबिवाद हुन्छ भने डरले उनलाइ इटहरीमा एउटा निर्माण कम्पनीमा अमिनी पदमा जागिर लगाएको तर ति युवती परिवारले षड्यन्त्र गरेर मैसेन्जर, ह्वाटसप र फोन नम्बरमा जबर्जस्ती फोन गरेर छठमा घर आउने छोरालाई कसैलाई कुनै जानकारी नदिई धेरै दिन अगाडि अर्थात दशैको पञ्चमी दिनमा बोलाएर निर्मम तरिकाले नेपालमा हत्या गरेर नजिक रहेको भारतको रेल्वे ट्रयाकमा फ्याकेको पीडितको बुवाले गम्भीर आरोप लगाए ।
मृतकको वुवा यादवका अनुसार छोराको हत्या भएको ७ महिना बित्यो तर न्यायको कुनै आशा देखिएको छैन । ६ महिना देखि घरपरिवारमा कुनै किसिमको खुशी छैन, प्रहरीले दोषि पत्ता लाग्ने आश्वासन मात्रै दिएको पिडितको भनाइ छ । जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपनि जाहेरीमा उल्लेखित व्यक्ति दोषी हो कि होइन अनुसन्धान समेत नगरेको उनले गुनासो गरे ।
छोराको हत्यारा पक्राउ नगरेको भन्दै प्रहरी कार्यालय अगाडि बृद्ध दम्पतिले आमरण अनशन बस्ने तयारी गरेका छन ।