अमेरिकाको न्युयोर्कमा देखियो पोलियो
काठमाडौंः अमेरिकाको न्युयोर्कका गभर्नरले राज्यभरि नै पोलियोको भाइरस फैलिरहेको प्रमाणहरू फेला परेपछि आपत्कालीन स्थितिको घोषणा गरेका छन् ।
स्वास्थ्य अधिकारीहरूले न्युयोर्क र त्यससँग जोडिएका चारवटा काउन्टीमा प्रयोग गरिसकेको पानीको नमुनाहरू परीक्षण गर्दा मानव शरीरमा पक्षघात निम्त्याउन सक्ने पोलियोभाइरस फेला परेको बताएका छन् ।
यद्यपि, अहिलेसम्म एउटै मात्र पोलियोको घटना पुष्टि भएको छ । झण्डै एक दशकपछि अमेरिकामा देखिएको यो पहिलो पोलियोको घटना हो ।
सन् १९५५ देखि अमेरिकामा पोलियोविरुद्ध खोप अभियान सुरु गरिएको थियो । पोलियोलाई ठूलो परिमाणमा अमेरिकाबाट उन्मुलन गरिएको थियो । अन्तत सन् १९७९ मा अमेरिकालाई पोलियोरहित मुलुक घोषित गरिएको थियो ।
तर, न्युयोर्कका अधिकारीहरूले यस राज्यका धेरै भागमा खोपको दर निकै कम रहेको बताएका छन् ।
शुक्रबार आपत्कालीन स्थिति घोषणा गर्नुको उद्देश्य खोपको दर बढाउनु रहेको छ । पोलियोको कुनै उपचार छैन । तर, खोप लगाएर यसबाट बच्न सकिन्छ । विशेषगरी यसले बालबालिकालाई आक्रमण गर्छ ।
पोलियो भाइरसले मांसपेशी कमजोर बनाउने र पक्षघात गर्ने गर्दछ । गम्भीर संक्रमण हुँदा यसले स्थायी रूपमा शारीरिक अशक्तता निम्त्याउनुका साथै बिरामीको ज्यान समेत लिन सक्छ ।
न्युयोर्कको राज्य स्वास्थ्य विभागले राज्यभरिको अहिलेको औसत करिब ७९ प्रतिशतमा सीमित रहेको खोप दरलाई ९० प्रतिशत भन्दा माथि पुर्याउने लक्ष्य रहेको बताएको छ ।

