चीनको नाकाबाट सुन तस्करी र क्रिप्टो कारोबारमा संलग्न २७ जनाविरुद्ध मुद्दा दायर

225 Shares

दुई महिना लामो अनुसन्धानपछि पाँचवटा कसुरअनुसार सजाय दाबी
३३ किलो सुन तस्करीमा ३१ करोड ११ लाख ७० हजार ४४६ रुपैयाँ बिगो दाबी
९१ करोड ४८ लाख ३२ हजार ५९३ युनिट युएसडिटीबराबरको क्रिप्टो कारोबारमा राष्ट्र बैंक ऐनअनुसार सजाय माग
दोलखाको लामाबगर क्षेत्रबाट भएको सुन तस्करी गर्ने गिरोहविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालत, दोलखामा पक्राउ परेका १५ तथा अन्य १२ फरार अभियुक्तविरुद्ध मुद्दा दायर गरेको हो । दुई महिना लामो अनुसन्धानपछि पाँचवटा कसुरअनुसार सजाय दाबी गरी मुद्दा दायर गरिएको छ ।

प्रहरीले सो समूहले ३३ किलो सुन तस्करी गरेको भन्दै सोहीअनुसार ३१ करोड ११ लाख ७० हजार चार सय ४६ रुपैयाँ बिगो दाबी गरेको छ । त्यस्तै, दुई अर्ब ९१ करोड ४८ लाख ३२ हजार पाँच सय ९३ युनिट युएसडिटीबराबरको क्रिप्टो कारोबार गरेको नेपाल राष्ट्र बैंक ऐनअनुसार पनि सजाय माग गरिएको छ । सो युनिटबराबर झन्डै चार खर्ब रुपैयाँबराबरको कारोबार हुने प्रहरी अधिकारी बताउँछन् ।

भन्सार ऐन, संगठित अपराध निवारण ऐन, नेपाल राष्ट्र बैंक ऐन, बालबालिकासम्बन्धी ऐन तथा अपराधसंहिताको एकीकृत कसुरअनुसार सजाय माग गरी मुद्दा दायर भएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनकै आधारमा मुद्दा दायर भएको जिल्ला न्यायाधिवक्ता अर्जुन कोइरालाले बताए ।

चीनबाट दोलखाको लामाबगर नाका हुँदै पटक–पटक सुन तस्करी भएको र त्यसको भुक्तानी क्रिप्टोमार्फत भएको प्रहरीले जनाएको छ । यसरी सुन तस्करीको रकम क्रिप्टोमार्फत भुक्तानीमा संलग्न महिमा माझीलाई पनि प्रहरीले पक्राउ गरेको छ । क्रिप्टो कारोबारको अभियोगमा पनि मुद्दा चलाउनेबारे छलफल भइरहेको दोलखाका प्रहरी प्रमुख डिएसपी दीपक खड्का बताउँछन् ।

६ असोजमा दोलखाको उत्तरी नाका फलेकबाट तस्करी भई आएको ११ किलो ४५ तोला सुन प्रहरीले बरामद गरेको थियो । फलेक नाकाबाट सुन तस्करी गर्ने गिरोहका मुख्य नाइके चिनियाँ नागरिक ६६ वर्षीय टासी दावा भनिने आगर लामा र गेङ राउ हुन् ।

उनीहरूलाई सघाउने सनत प्रधान, लालबहादुर तामाङ, पेम्बा तामाङ, च्याङ्बा भनिने चसमान तामाङ, केसर तामाङ, माधव मगर, चेतनाथ न्यौपाने, नुर्बुछिरिङ शेर्पा र सुनमाला तामाङलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । तस्करीको सुन किन्ने काठमाडौंका सुन पसले दीपेन्द्र शाक्य र तिलक विक पनि प्रहरी हिरासतमै छन् । एक नाबालक पनि यो मुद्दाका प्रतिवादी छन् । फरार १२ मध्ये तिब्बतमा रहेका आकर लामाका आफन्त, क्रिप्टो कारोबारीलगायत छन् ।