प्रहरीद्वारा पीडितसँग क्रिकेटर लामिछाने होटलमा गएको सीसी टीभी फुटेज संकलन

365 Shares

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले किशोरीलाई लगेर जबरजस्ती करणी गरेको भनिएको होटलको क्लोज सर्किट (सीसी) क्यामराका दृश्य प्रहरीले संकलन गरेको छ ।

ती दृश्यमा लामिछाने र पीडित भनिएकी युवती ५ भदौमा होटलको कोठा नम्बर ३०५ सम्म पुगेको देखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार होटल काठमाडौं इनमा लामिछाने किशोरीसहित राति ११ः५५ बजे पुगेका थिए । उनीहरु बिहान साढे ६ बजेतिर फर्किएको देखिएको छ ।

लामिछानेले होटलका सञ्चालकलाई फोन गरेरै कोठा बुक गरेको पनि पाइएको अनुसन्धानमा संलग्न अधिकृतको भनाइ छ । पीडितको बयान अनुसार उनले दुईवटा कोठा बुक गर्न भनेकी थिइन् । तर लामिछानेले एउटा मात्र कोठा खाली भएको बताउँदै एउटैमा बस्नुपर्ने बताएका थिए ।

राति लामिछानेले मादक पदार्थ पनि सेवन गरेको पीडितको भनाइ छ । प्रहरीले नगरकोटमा उनीहरु गएको भनिएको होटलको पनि सीसी टीभी फुटेज संकलन गरेको छ ।