अत्याधिक रक्तस्राव हुँदा पाँचथरमा १९ वर्षीय सुत्केरीको ज्यान गयो

421 Shares

पाँचथर :: प्रसुती पश्चात रक्तस्राव हुँदा पाँचथरमा एकजना किशोरीको ज्यान गएको छ ।
जिल्लाको कुम्मायक गाउँपालिका २ मङजावुङकी १९ वर्षीया मनिषा आचार्यको वुधवार साँझ ज्यान गएको हो ।
उप स्वास्थ्य चौकी मङजावुङका प्रमूख (हेल्थ अशिसटेन्थ) सचिन्द्र मेहताका अनुसार आचार्यलाई सुत्केरी व्यथा लागेपछि पुष २० गते विहान १० बजे स्वास्थ्य संस्था ल्याइएको थियो ।
‘भर्ना गरिएको दुईघण्टापछि उहाँको नर्मल डेलिभरी भयो, केहिवेरपछि रक्तस्राव सुरु भएर औषधी दिएपछि ठिक भयो, चारबजे अचानक बेहोस भएपछि थप उपचारका लागि जिल्ला अस्पताल फिदिम लैजाने क्रममा उहाँको निधन भयो ।’–मेहताले भन्नुभयो ।
बेहोस भएपछि तत्काल जिल्ला अस्पताल पठाउने गाडी नभेट्दा पनि उहाँको थप उपचारमा ढिलाइ भएको मेहताको भनाई छ । साँझ नौ वजे जिल्ला अस्पताल ल्याइ पु¥याँउदा चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए ।
उहाँले पैदा गरेको बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । सुत्केरी पछि हुने अत्याधिक रक्तस्रावका कारण उहाँको निधन भएको पाँचथर अस्पतालका डाक्टर बुद्वीबहादुर थापाले जानकारी दिनुभयो ।